तनाव र मानसिक स्वास्थ्य

WHO का अनुसार मानसिक स्वास्थ भनेको सुस्वास्थको त्यस्तो अवस्था जहाँ प्रत्येक व्यक्तीले आफ्ना सम्भावनाहरु महसुस गर्छ, जिवनका सामान्य तनावहरुको सहजै सामना गर्छ तथा उत्पादनशील रुपमा काम गर्दै आफ्नो समुदायमा केहि योगदान पुर्याउछ । तसर्थ पूर्ण रुपमा स्वस्थ हुन मानसिक रुपमा पनि सबल अनि स्वस्थ हुन अत्यन्त जरुरी छ । प्रायः मानसिक स्वास्थ र मानसिक रोगलाई एकै रुपमा लिएको पाइन्छ । मानसिक रोग हुनकालागि तीन कुराहरु आवश्यक पर्दछ: मानसिक रोगका लक्षण, त्यस लक्षणहरुको समयावधी र दिनचर्यामा असर ।मनसिक रोगका केहि लक्षणहरु तल दिइएका छन्:

  • निराश हुने
  • एन्जाइटी
  • झम– झम हुने वा सोला हान्ने
  • अत्याधिक रुपमा रिसाउने
  • बिर्सने
  • धेरै शंका लाग्ने
  • कुनै शारिरिक कारण बिना दुख्ने
  • अस्वभाविक व्यवहार देखाउने
  • निद्रामा समस्या
  • खानामा अरुची वा बढी खाने
  • टाउको दुखाई
  • असहज महसुस हुने
  • मुटु ढुकढुक हुने
  • आत्मबलमा कमी
  • नभएका आवाजहरु सुन्ने वा नभएका वस्तुहरु देख्ने
  • नशाजन्य पदार्थहरुको प्रयोग
  • बढी मात्रामा इन्टरनेटको प्रयोग
  • आत्महत्या सम्बन्धी सोच वा प्रयास
  • बारम्बार एउटै सोच रहने

एउटा मात्रै लक्षण देखिंदैमा मानसिक रोग लाग्यो भन्न मिल्दैन । परिक्षामा फेल हुँदा उदास हुनु स्वभाविक हो तर यसलाई डिप्रेशन वा उदासिनताको रोग भन्न मिल्दैन । यदि रोग नै हो भने डिप्रेशनका अरु लक्षणहरु निश्चित समयावधीकालागि हुन जरुरी छ र यसले व्यक्तिको दिनचर्यामा पनि असर गरेको हुन पर्दछ ।

तनाव र मानसिक स्वास्थ: मनसिक रोगका कुनै पनि एक कारण पत्ता लागेको छैन । धेरै कारणहरु मध्ये तनाव पनि एक हुन सक्छ । बायोसाइकोसोसल (bio-psychosocial)मोडलमा  पर्ने मनोवैज्ञानिक र सामाजिक कारणमा “तनाव” आउन सक्छ । तर बुझ्नपर्ने कुरा के छ भने खालि तनाव हुनाले मात्र मानसिक रोगी बनाउदैन । त्यसका लागि न्यूरोकेमिकल गडबडी हुन जरुरी हुन्छ । यदि तनाव मात्रै कारक हुने भए संसारका सबै मानिस मानसिक रोगी हुन्थे । तर त्यस्तो छैन । यसको आसय के हुन्छ भने –मानसिक रोग न्यूरोबायोलोजिकल हुन्छन् र यसलाई तनावले अझै नराम्रो बनाउँछ । त्यसैगरी तनाव व्यवस्थापनमा राम्रो स्रोत नहुनालेपनि मानिसलाई मानसिक रोग तर्फ लान सक्छ ।

तनाव व्यवस्थापनको उचित स्रोत नहुनुपनि मानसिक समस्याको एक कारण हो । तनाव आफैंमा पनि मानसिक स्वास्थ समस्याको एक लक्षण हो । तनावको बेला गरिने नशाजन्य पदार्थको प्रयोगले पछि गएर त्यहि नशा प्रति निर्भर गराउन सक्छ । यस निर्भरतालाई पनि हामी मानसिक रोग नै भन्दछौं । धेरै समयसम्म तनाव भइरहेमा यसले रोग र तनाव बिचको सम्बन्ध स्थापित गर्न सक्छ ।

समग्रमा भन्दाः

तनाव र मानसिक रोग भनेको उही होइन ।

तनाव मानसिक रोगसँग सम्बन्धित हुन सक्छ ।

मानसिक रोगको अवस्थामा तनाव हुन्छ ।

मानसिक रोग रोकथाम :

यस सम्बन्धमा धेरै अध्ययन अनुसन्धान भएतापनि कुनै निश्चित रोकथामको उपाय पत्ता लागेको छैन ।

मानसिक रोगको केहि मात्रामा जोखिम कम गर्ने उपायहरु निम्न प्रकारका छन्:

सकारात्मक सोच

समस्या समाधान गर्ने सिप

आत्मबलको बृद्घि

तनावको व्यवस्थापन

कुशल अभिभावकत्व

निरन्तर व्यायम

सामाजिक सहयताको अभिबृद्घि

यसबाहेक सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मानसिक समस्या पत्ता लाग्नु र उपचार हुनु हो । त्यसकारणले समस्या भएमा वा भएजस्तो लागेमा सम्बन्धित विज्ञबाट सहयोग लिन जरुरी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *