तनावः परिचय र परिणाम

चिन्ता वा तनाव नहुने व्यक्ती सायदै कोहि होलान् । प्रत्येक  व्यक्तिलाई कुनै न कुनै किसिमको तनाव हुने गर्दछ । नियमित प्रक्रियामा भएको कुनै पनि परिवर्तनले निम्त्याउने शारीरिक, मानसिक, भावनात्मक तथा व्यवहारिक प्रतिक्रिया नै तनाव हो । यसले परिवर्तन वा खतरासँग जुध्न शरिरलाई तयार पार्दछ । यसले मानिसलाई उर्जावान् र सचेत राख्दछ । तनाव बिनाको जिवन निरस हुन जान्छ । यदि कुनै विद्यार्थीलाई उसको परिक्षाको कुनै तनावनै छैन भने उसले त्यस परिक्षको प्रभावकारी तयारी नै गर्दैन अथवा यदि कुनै व्यक्तिलाई उसको स्वास्थको कुनै चिन्ता नै नभए उसले आफ्नो खानपिन, रहनसहनमा ध्यान दिन छाड्छ । तर यदी तनाव लामो समयसम्म भइरहेमा यसले नकरात्मक रुप लिन सक्छ ।

तनावको बेलामा मुटुको धड्कन तेज हुने, श्वास प्रश्वास छिटो छिटो हुने, मांशपेशी खुम्चने जस्ता शारीरिक प्रतिक्रियाहरु देखिन्छ। यस्ता शारीरिक प्रतिक्रियाहरुले हामीलाई सुरक्षित राख्न मदत गर्दछ । खतरा वा जोखिमको अवस्थामा यसले शरिरलाई “जुध्न वा भाग्न” तयार बनाउँदछ । प्रायः तनावपूर्ण अवस्था पछि शरिर पुनः आफ्नो सामान्य अवस्थामा फर्केर जान्छ । तसर्थ छोटो अवधिको तनावले जिवनलाई सुरक्षित तथा उर्जावान् बनाई राख्न मदत गर्दछ ।

आर्थिक अवस्था, पारिवारीक स्थिती, स्वास्थ्य समस्या आदि तनावका कारक बन्न सक्छन् । ती देखि बाहेक बाटोमा देखेको झगडा, ठोकिएर लागेको चोट जस्ता घटनाले पनि तनाव सिर्जना गराउन सक्दछ । तनावका कारकहरुको पुर्वानुमान गर्न सकिंदैन न त नियन्त्रण नै गर्न सकिन्छ । यदि तनावका कारकहरु दोहोरिरहेमा यस प्रतिको शारिरीक प्रतिक्रियाहरु पनि दोहोरीरहन्छन् जसले गर्दा शरीर प्राय सतर्क अवस्थामा रहिरहन्छ र व्यक्तिलाई सामान्य अवस्थामा फर्कन गाह्रो हुन्छ । र यस्तो अवस्था लामो समयसम्म रहिरहेमा यसले विभिन्न शारिरिक तथा मानसिक समस्याहरु निम्त्याउने गर्दछ ।

तनावका भावनात्मक लक्ष्णहरु

  • छिट्टै रिस उठ्ने, दिक्क लाग्ने
  • छटपटी हुने, मनमा धेरै कुराहरु खेल्ने
  • नराम्रो लाग्ने, उदास हुने, एक्लो महसुस हुने
  • अरुसँग घुलमिल हुन मन नलाग्ने

 

तनावका शारीरिक लक्षणहरु

  • अल्छी लाग्ने, आलश्य हुने
  • टाउको दुख्ने
  • पखाला लाग्ने वा कब्जियत हुने
  • मंशपेशी कसिलो भएजस्तो वा दुखे जस्तो हुने
  • छाती दुख्ने, मुटुको धड्कन तेज हुने
  • निन्द्रा नलाग्ने
  • मुख सुक्ने, निल्न गाह्रो हुने
  • शरीर कम्पन हुने
  • यौनइच्छा वा यौन चाहनामा कमी हुने

 

तनावका संज्ञात्मक लक्षणहरु

  • चिन्ता लागिरहने
  • दिमागमा कुरा खेलिरहने
  • छिट्टै बिर्सने
  • कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुने
  • निराशावादी हुने

 

तनावका व्यवहारमा देखिने लक्षणहरु

  • खाना मन नलाग्ने वा एकदमै धेरै खाने
  • काम वा जिम्मेवारी समयमा पूरा नगर्ने वा पछि गर्छु भनेर पन्छाउने
  • धुम्रपान, मद्यपान वा नशाजन्य पदार्थहरु बढि प्रयोग गर्ने
  • आत्महत्या को प्रयास वा आत्महानि

 

तनाव सबैलाई हुन्छ र कहिलेकाहीं तनाव भयो भन्दैमा आत्तिहाल्न पर्ने केहि हुँदैन । तर यदि तनाव निरन्तर रुपमा लामो समयसम्म भइरहेको खण्डमा यसले गम्भिर स्वास्थ समस्या निम्त्याउन सक्छ । निरन्तर रुपमा लामो समयसम्म तनाव भइरहेमा देखिने परिणामहरु:

  • मानसिक स्वास्थ समस्याहरु जस्तै उदासिनता, एन्जाइटि
  • मुटु सम्बन्धि समस्याहरु जस्तै मुटुको समस्या, उच्च रक्तचाप, मधुमेह
  • मोटोपन र अन्य समस्याहरु
  • महिनावारी समस्याहरु
  • यौनजन्य समस्याहरु जस्तै पुरुषमा शिघ्र विर्यपतन तथा महिला पुरुष दुवैमा यौनइच्छामा कमि
  • छाला तथा कपाल सम्बधि समस्याहरु
  • पेटसम्बन्धि समस्याहरु जस्तै ग्यास्ट्रिक, अल्सर, छाती पोल्ने, अमिलो पानी आउने

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *