कोभिड–१९ को महामारी र मानसिक स्वास्थ्य

नोबेल कोरोना भाइरसले विश्वभरी  त्रास र चिन्ताको वातावरण सिर्जना गरेको छ । संसारभरिका स्वास्थकर्मीले यसको नियन्त्रणका लागि विभिन्न प्रयास गरेतापनि यी प्रयासहरु पर्याप्त भइरहेका छैनन् र यसले आम-मानसमा तनाव र त्रासको स्थिती सिर्जना गरेको छ । सामाजिक तथा विद्युतिय सञ्जालमा सम्प्रेषण भइरहेका समाचार तथा सूचनाहरुले हामी सबैलाई चिन्तित बनाउनु सामान्य नै हो । विपद्को समयमा डर लाग्नु वा तनावमा आउनु सामान्य हो तर यसले लामो समयसम्म दैनिक जिवनलाई असर पु¥याउनु हुँदैन । प्रत्येक मानिसको तनावप्रतिको प्रतिक्रिया भिन्ना भिन्नै हुन सक्छ । सामान्य मानिसहरु भन्दा पनि जोखिममा रहेका वर्गहरु जस्तै बालबालिका, बृद्ध बृद्धामा , स्वास्थकर्मीहरुको यस प्रतिको प्रतिक्रिया फरक तथा जटिल हुन सक्छ । निद्रा नलाग्ने, काम गर्न मन नलाग्ने, छटपटी हुने, मुटुको धड्कन बढ्ने, सास फुल्ने, पुरानो स्वास्थ समस्या अझ जटिल हुँदै जाने तथा मादक पदार्थको बढि सेवन गर्ने जस्ता समस्या बढेर जान सक्छ तर यसलाई रोगकै रुपमा लिइहाल्न भने मिल्दैन । महामारी सकिए लगत्तै मानिसहरु पहिलेकै सामान्य अवस्थामा आउन सक्छन्। यसलाई सामान्य तनाव प्रतिको प्रतिक्रिया मानिन्छ ।

एन्जाइटी भएका बिरामीमा यसको प्रभाव 

विश्वव्यापी रुपमा यस महामारीको विषयमा भइरहेको चर्चाले एन्जाइटीको जोखिममा रहेका बिरामीहरुमा एन्जाइटी देखिन सक्छ वा एन्जाइटी डिसअर्डर भएका बिरामीमा थप एन्जाइटी बढाउन सक्छ ।आफु वा आफ्नो परिवारको सदस्यलाई केहि नराम्रो भइहाल्छ कि भन्ने कुराले निरन्तर रुपमा सताउनुनै एन्जाइटी डिसअर्डरको एक मुख्य लक्षण हो । तसर्थ यस महामारीको तनाव एन्जाइटीकै लक्षणहरुको रुपमा प्रस्तुत हुन सक्छ । हामी, मनोचिकित्सकहरुले पनि दैनिक रुपमा यस्ता थुप्रै बिरामीहरु भेट्ने गरेका छौं । यस महामारीले आफुलाई जुनसुकै बेला असर गर्न सक्छ भन्ने त्रास तथा चिन्ता बोकेर थुप्रै बिरामीहरु आउने गर्छन् । यस्तो अवस्थामा आफुमा हुनसक्नेसम्मको नराम्रो अवस्थाको परिकल्पना गर्छन र आफ्नो दैनिक काम पनि राम्ररी गर्न सक्दैनन् । अनुवंशिक रुपमा नै जोखिममा रहेका यि समूहहरुमा यस्तो प्रकारको महामारीले सहज रुपमाएन्जाइटी गराउन सक्छ । अहिलेको जस्तो अनिश्चित खतरामा यस्ता व्यक्तिहरुको दिमागले यस जोखिमको खतरालाई झन् बढाइचढाइ गर्छ र यस्तो महामारिसँग जुध्न सक्ने वा लड्न सक्ने क्षमतामा पनि ह्रास ल्याउँछ । प्राकृतिक प्रकोप, महामारी, दुखद समाचार वा यस्ता कुनै घटनाले जोखिममा रहेकाहरुमा एन्जाइटी गराउन सक्छ भने यसको उपचार गराइरहेका वा यसको औषधी लिंदै गरेको बिरामीहरुमा यसको लक्षण अझै बढ्न सक्ने खतरा हुन्छ ।

बालबालिकामा यसको प्रभाव

अहिलेको अवस्था हेर्दा बालबालिकाको दैनिक कार्यतालिका नै फरक परेको छ । बालबालिकालाई अहिलेको बदलिएको परिस्थिती अनुरुप आफुलाइ ढाल्न कठिनाइ हुन सक्छ । उनिहरुले सबै कुरालाई गहिराईमा नियाल्ने हुँदा अभिभावकले देखाइरहेको यस अवस्था प्रतिको प्रतिक्रियाले उनिहरुमा असर पुग्ने गर्दछ । यस सम्बन्धमा उनिहरुले धेरै प्रश्न पनि गर्न सक्छन् । यस्तो अवस्थामा उनिहरुले धेरै झै–झगडा गर्ने, रुने, झर्कने, र अन्य व्यवहारिक समस्याहरु जस्तै टाउको दुख्यो भन्ने, पेट दुख्यो भन्ने, खान नमान्ने जस्ता व्यवहारहरु देखाउन सक्छन् । यस्तो अवस्थामा उनिहरुलाई अभिभावकबाट नियमीत सहयोग, समर्थन तथा सहानुभुती प्रदान भएमा उनिहरु सामान्य अवस्थामा आउँछन् ।

बृद्ध बृद्धामा यसको प्रभाव

विभिन्न अध्ययनहरुले यस महामारीले बृद्घबद्घामा विभिन्न किसिमको मानसिक तथा व्यवहारिक समस्या बढाउन सक्ने कुरा देखाएको छ । यस उमेर समूहको दिनचर्या प्रायः मठमन्दिर गएर, सामाजिक तथा धार्मिक कार्यमा संलग्न भएर बित्ने हुँदा, उनिहरुको सामाजिक संलग्नतालाई नै यस अवस्थाले असर पुर्‍याउन जान सक्छ । यस्तो अवस्थामा उनिहरु ब्ढि झर्कने, रिसाउने वा तनावग्रस्त हुन सक्छन् । उनिहरुलाई हालको अवस्थाको बारेमा अवगत गराउँदै घरमै रहन आग्रह गर्नु पर्छ । घरमै सामान्य व्यायाम गरेर, परिवारका सदस्यसँग समय व्यतित गरेर बस्नु नै उपयुक्त हुन्छ । नियमित रुपमा औषधी सेवन गर्नुपर्ने बिरामीका सम्बन्धमा कम्तिमा पनि १५ दिनकोलागि औषधी ल्याइराख्नु पर्ने हुन्छ । अहिलेको महामारीले धेरै असर बृद्ध बृद्धाको स्वास्थ्यमा पार्ने हुँदा अब के हुन्छ भन्ने त्रास उनिहरुमा बढ्न जान्छ ।

सामान्य तनाव वा चिन्ता कमजोरीको संकेत भने कदापी हैन । विश्व स्वास्थ संगठनले हालसालै गरेको प्रकाशनमा कोभिड–१९को समयमा मानसिक स्वास्थमा पुर्‍याउन पर्ने सजगताका विषयमा निम्‍न कुराहरु उल्लेख गरेको छ ।

  • कोभिड– १९ धेरै देशका मानिसहरुमा देखिन सक्छ । यसलाइ कुनै वर्ग, सम्प्रदाय वा राष्ट्रियतासँग जोडेर नहेरौं । संक्रमण भएकाहरु प्रति समानुभूतिशिल होऔं । संक्रमित हुनु उनिहरुको गल्ती हैन ।
  • कोभिड–१९ संक्रमित व्यक्तिहरुलाई ‘कोभिड– १९ का केसहरु’, ‘पिडित’, ‘कोभिड १९ परिवार‘ वा ‘रोगी’ भनेर सम्बोधन नगरौं । उनिहरु ‘कोभिड– १९ संक्रमित व्यक्तिहरु’, ‘कोभिड– १९ का उपचारमा रहेका व्यक्तिहरु ’ हुन् । उपचार भइसकेपछि यी व्यक्तिहरुले अरु सरह सामान्य जिवनयापन गर्न  सक्नेछन् ।
  • आफुमा चिन्ता पैदा गर्ने समाचार तथा सूचनाहरु नसुनौं, नहेरौं वा नपढौं । यस महामारीबाट आफु तथा आफ्ना परिवारहरुलाई सुरक्षित राख्ने सम्बन्धि सूचनाहरु लिऔं । कुनै निश्चित समयमा दैनिक एक वा दुइ पटक यस सम्बन्धि अद्यावधिक गरिएका सुचनाहरु लिने गरौं । जुनसुकै बेलापनि यसै सम्बन्धि सुचना हेर्ना वा सुन्नाले जोकोहिलाई पनि चिन्तित बनाउन सक्छ । सुचनाहरु आधिकारीक स्रोतहरु जस्तै विश्व स्वास्थ संगठनको वेभसाइट वा स्थानिय स्वास्थ अधिकारीबाट मात्रै लिने गरौं । यसले तथ्यबाट हल्लाहरु छुट्याउन सहयोग पुर्‍याउँछ ।
  • आफुलाई बचाऔं र अरुलाई सहयोग गरौं । परेको बेलामा अरुलाई सहयोग गर्नाले सहयोग लिने र दिने दुवैलाई फाइदा पुग्छ ।
  • कोभिड– १९ को संक्रमणबाट बाँचेका व्यक्तिहरु वा संक्रमण भएको अवस्थामा स्याहार पुर्‍याएका व्यक्तिहरुको सकारात्मक कथाहरु , आवाजहरुलाई बढावा दिऔं ।
  • कोभिड– १९ संक्रमित व्यक्तिहरुको हेरचाहमा लागेका स्वास्थकर्मी तथा स्याहारकर्ताहरुलाई सम्मान प्रदान गरौं । तपाईं तथा तपाईंका प्रियजनहरुको स्वास्थ सुरक्षाकालागि उहाँहरुले निभाउनुभएको भूमिका प्रति आभार व्यक्त गरौं ।
  • बालबालिकाहरुलाई आफ्नो खलबलीहरु व्यक्त गर्ने सकारात्मक वातावरण प्रदान गरौं । प्रत्येक बालबालिकाको आफ्नै अभिव्यक्तीका शैलीहरु हुन्‍छन् । कहिलेकाहिं चित्रकला वा गेमहरु जस्ता सिर्जनशिल क्रियाकलापका माध्यमबाट पनि  यी कुराहरु अभिव्यक्त हुन सक्छन् । यदि आफ्ना खलबलिहरु सुरक्षित वातावरणमा राख्न पाएमा उनिहरुलाई सहज हुन्छ ।
  • सुरक्षित भएसम्म बालबालिकालाई आफ्ना अभिभावक वा स्याहारकर्तासँग नै राखौं । बालबालिकालाई स्याहारकर्ता वा अभिभावकसँग राख्न नसकिने अवस्थामा बालबालिकाको स्याहारको जिम्मेवारी अरुलाई दिऔं र सो खण्डमा बालबालिकासँग फोन वा भिडियो कल वा अन्य कुनै सञ्जालबाट अभिभावकको नियमित सम्पर्क सुनिश्चित गरौं ।

महामारीको बेलामा चिन्तित हुनु वा तनावमा आउनु सामान्य नै हो । यो कुनै कमजोरी हैन । एन्जाइटीको जोखिममा रहेका बिरामीहरुमा महामारी सम्बन्धि अत्याधिक चिन्ता वा त्रास  देखिन सक्छ । यस्तो बेला सामाजिक सञ्जालमा राखिएका समाचार वा यस सम्बन्धि जानकारी नभएका व्यक्तिको कुराहरु सुन्नु भन्दा पनि आधिकारिक सुचनाहरुमा भर पर्नु बुद्धिमनिहुन्छ । यदि यस सम्बन्धि कुराहरुले निद्रमा समस्या आएमा वा दैनिक काममा असर पुर्‍याएमा मानसिक स्वास्थ विज्ञहरुको सहयोग लिनु नै उचित हुन्छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *